दफा ३७
सहुलियत र सुविधा
: (१) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई कृषि र स्वरोजगारमूलक व्यवसाय वा उद्यमशीलताका लागि अनुदान वा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नेछ ।
(२) सवारी साधनको धनी वा सञ्चालकले तोकिए बमोजिमका अपाङ्गता भएका व्यक्तिलाई बस, रेल, हवाईजहाज जस्ता सार्वजनिक सवारी साधनबाट यात्रा गर्दा यात्रु भाडामा पचास प्रतिशत छुट उपलब्ध गराउनु पर्नेछ ।
(३) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सहायक साधन, उपकरण वा औजार, अपाङ्गमैत्री सवारी साधन तथा अपाङ्गता भएका व्यक्तिको शिक्षा, तालिम वा स्वरोजगारका लागि प्रयोग हुने मालसामान, यन्त्र, पाटपूर्जा तथा कच्चा पदार्थमा प्रचलित कानून बमोजिम भन्सार, अन्तशुल्क, स्थानीय कर वा अन्य दस्तुर सम्पूर्ण वा आंशिक रूपमा छुट दिन सक्नेछ ।
(४) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिने उद्देश्य राखी स्थापना भएका प्रतिष्ठानमा जडित यन्त्रलाई अपाङ्गमैत्री बनाउन विशेष रुपमा फेरबदल वा पार्टपूर्जा जडान गर्दा भएको खर्चमा तोकिए बमोजिम कर छुट दिन सक्नेछ ।
(५) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई निशुल्क शिक्षा दिने संस्थागत विद्यालयलाई सो वापतको रकम करमा छुट दिन सक्नेछ ।
(६) नेपाल सरकारले तोकिए बमोजिमका अपाङ्गता भएका व्यक्तिका छोरा छोरीहरुलाई तोकिए बमोजिम निशुल्क शिक्षाको व्यवस्था गर्नेछ ।
(७) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई मात्र तालिम वा रोजगारी दिने वा रोजगारीको व्यवस्था गरिदिने सामाजिक संस्था, व्यापारिक वा औद्योगिक प्रतिष्ठानलाई बैङ्क तथा वित्तीय संस्थाबाट सहुलियत ब्याजदरमा ऋण दिलाउने व्यवस्था गर्न सक्नेछ ।
(८) अपाङ्गता भएका व्यक्तिलाई रोजगारी वा तालिम दिनेउद्देश्यले स्थापना भएका वा तोकिएको भन्दा बढी सङ्ख्यामा अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिने प्रतिष्ठानलाई नेपाल सरकारले विशेष सहुलियत दरमा ऋण उपलब्ध गराउन, प्रचलित कानून बमोजिम कर छुट दिन वा अपाङ्गता भएका व्यक्तिलाई कार्यस्थलमा सुरक्षाका लागि आवश्यक पर्ने उपकरण आयात गर्दा, कच्चा पदार्थ उपलब्ध गराउँदा वा बजार व्यवस्थापन कार्यका लागि छुट तथा सहुलियत प्रदान गर्न सक्नेछ ।